Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिएका छन् ।

निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अबदेखि नै तयारी थाल्ने भएका छन् । जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।

जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन् । उनीहरुको कार्यकाल छ बर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई बर्ष बढी हो ।

त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० बर्षको हुनुपर्नेछ, जबकि तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ बर्षको भए पुग्ने व्यवस्था छ ।