Tue Jun 28 2022
Breaking News

मन्त्री आलेको गुनासोः समग्र बजेट बढ्दा पर्यटन मन्त्रालयको साढे १० अर्ब कटौती गरियो

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौती गरिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासो गरेका छन् ।

बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताए ।

मन्त्री आलेले बजेटको आकार भने नौ दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे ।

अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण सांसदको निर्वाचन क्षेत्रमा गएका आयोजनाहरूलाई निरन्तरता दिन नसकेको बताए । मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि दाबी गरे ।

मन्त्री आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्रिभुवन विमानस्थलले आगामी दिनमा यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे ।