Wed Jun 29 2022
मुख्य खबर

नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैनः एमाले

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै हालतमा स्वीकार्य नहुने भन्दै सरकारलाई सचेत गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय लिएर बोल्दै एमालेका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामाथि प्रश्न उठाउँदै यस्तो बताएका हुन् ।

उनले श्रृंखलाबद्ध रुपमा नेपालको परराष्ट्र नीतिमा विचलनका घटना भएको उल्लेख गर्दै एसपीपीको मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको उल्लेख गरे ।

ज्ञवालीले एमाले नेतृत्वको सरकारले विश्वका सबै देश मित्र हुन् भन्ने नीति नै लिएको स्मरण गराउँदै अहिले पनि नेपालको लागि सबै देश मित्र भएको बताए ।

उनले भने, ‘तर, उहाँहरुको आ–आफ्नै ग्लोबल एजेन्डा र रणनीति होलान् । यस्तो अवस्थामा माफ गर्नुहोला, हामी तपाईंहरुको ग्लोबल एजेन्डाको साझेदार बन्न सक्दैनौँ भन्न नसक्नेले सरकारमा बसिरहन सुहाउँदैन ।’