Sat Jun 25 2022
मुख्य खबर

१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा– प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १६५६ को माइक्रो बसलाई चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।