Sun Jun 26 2022
मुख्य खबर

राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । डा. विनय हाल नेपाल भ्रमणमा रहेका छन् । डा. विनयले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवं शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरे ।

भ्रमणका क्रममा सहस्रबुद्धेले बुधबार परेको अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रमका रूपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भए । जारी ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमका रूपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौंअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झन्डै १ सय ५० जना योग पारखीको सहभागिता थियो ।

आईसीसीआर छात्रवृत्तिअन्तर्गत भारतमा अध्ययन गरेका नेपालीसहित अन्य नेपाली विद्यार्थीलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २ सयभन्दा बढी सदस्यसँग डा. सहस्रबुद्घेले संवाद गरे । पूर्वविद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले निर्वाह गरेको महत्वपूर्ण भूमिका’ चर्चा गरे ।

यसैगरी आईसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिका’छलफल गर्न डा. सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशकलगायत प्रमुख शिक्षाविद् र प्राज्ञसँग भेट गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ ।