Mon Jun 27 2022
Breaking News

एसपीपीमा नेपालले कुनै सम्झौता गर्दैनः प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामेल हुँदैछ भनेर झुटो प्रचार गरिएको बताएका छन् ।

उनले एसपीपीमा नेपालले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै वर्तमान गठबन्धन सरकार नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिने बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले राष्ट्रवादको झुटो प्रचार गरिएको पनि बताए ।

‘एसपीपी सैनिक सम्झौता हुँदैछ रे भनेर प्रचार गरिएको छ । त्यस्तो कुनै सम्झौता भएको छैन, त्यस्तो कुनै सम्झौता हुने छैन भनेर म यहाँबाट घोषणा गर्न चाहन्छु,’ प्रचण्डले भने ।

अध्यक्ष दाहालले एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको पनि बताए ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका रितबहादुर खड्कालाई २०५९ साल असार २ गते रौतहटमा प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको थियो ।