Wed Jun 29 2022
मुख्य खबर

कालिकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट– कालिकोटको खाडाँचक्र नगरपालिकाको वडा नम्वर २ मा गएराति परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

आफ्नो गाउँ नजिकै खोला पारी रहेको बसन्तावाडाबाट श्रीमतीसहित घर फर्किदै गर्दा मुले खोलामा आएको बाढीले बगाउँदा स्थानीय खड्के विकको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा उनकी श्रीमति लालधरी गम्भीर घाइते भएकी छन् । लालधरीलाई भने करिब १५० मिटर तलसम्म खोलाले बगाएको अवस्थामा स्थानीय उद्धार गरेका हुन् ।

पानी परेकै बेला राति ८ बजे आफ्नो घर फर्किदै गर्दा घटना गएको स्थानीयवासीले बताएका छन् । मृतक विकको शव करिब १ किलोमिटर टाढा निखैला भन्ने ठाउँमा भेटिएको छ । घाईते लालधरीको थप उपचारका लागि जुम्ला रिफर गरिएको छ ।

यस्तै, बुधबार साझँ ५ बजेदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको सुनार खोलामा सडक भाँसिदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा चल्ने सवारी साधनहरु बाटोमै रोकिएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रेगिलघाटमा पनि वर्षापछि आएको पहिरोले जिते आरसीपी बजारको कर्णाली करिडोर अवरुद्ध भएको छ । सवारी साधनहरु नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।