Sat Jun 25 2022
मुख्य खबर

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्व ७४ करोड

दिनेश बिष्ट, कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

अगामी आर्थिक वर्ष २०७९/०८० का लागि जम्मा ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिए । सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको मन्त्री रावलले बताए ।

यस्तै सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको हो । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।

प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण तथा शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।

प्रदेश सरकारले गतवर्ष गएको बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि समेत विशेष बजेट विनियोजन गरेको छ । गतवर्ष वर्षाले विभिन्न संरचनामा क्षति पु¥याएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमार्ण एवम् पुनःस्थापना गरि पीडितहरुको संरक्षण र सम्भावित जोखिम न्यूनिकरणका गर्न ६९ लाख विनियोजन गरिएको मन्त्री रावलले बताए ।

पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ । सरकारले उपलब्धी हुने गरी बजेट ल्याएको दावी गरे पनि सत्ता पक्षकै सांसदहरुले भने बजेटप्रति असन्तुस्टी जनाएका छन् । बजेटले प्रदेशका जनताको जिवनस्तर माथी नउकास्ने दावी गर्दै टुक्रे योजनाले पुरानै प्रबृति दोहोरिएको सत्ता पक्षकै सांसदहरुको दावी छ ।

यस्तै प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारले हावादारी तरिकाले बजेट ल्याइएको आरोप लगाएको छ । घाटाको बजेट र सबै पुरानै कुराहरु समावेश भएको बजेट कुनै नौलो नभई बिगतको बराबर पनि कार्यान्वयन हुने खालको बजेट नआएको बिपक्षी दलको भनाई छ ।

बजेटले जनतालाई राहत दिने भन्दा पनि महगीं बढाउने मात्र भएको एमालेको दावी छ ।

सरकारले जनतालाई राहत हुने गरी र सुदूरपश्चिमको बिकासमा योगदान दिने खालको बजेट भने पनि सत्ता पक्षकै सांसद र बिपक्षीले बजेटमाथि प्रश्न उठाएका छन् । यति मात्रै नभई बिचौलियाहरुका मागमा होटेलको कोठाबाट बजेट आएको सांसदहरुले आरोप लगाएका छन् ।