Tue Jun 28 2022
मुख्य खबर

केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः प्रचण्ड

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित २१औँ रितबहादुर खड्काको स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने बताउनु भयो । उहाँले एक्लै अघि बढ्ने अहंकार, निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको पनि बताउनु भयो ।