Sun Jun 26 2022
मुख्य खबर

सदनमा सरकारको स्पष्टोक्ति– नेपाल एसपीपीमा संलग्न छैन र हुँदैन

काठमाडौँ– सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्झौता अनुमोदन नगरेको दोहोर्याएको छ ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले नेपालले एसपीपी सम्झौता नगरेको जानकारी दिँदै नेपाल सरकार आफ्नो भूमि कुनै पनि अर्को देशको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धतामा अडिग रहेको बताए । ‘एसपीपीमा नेपाल संलग्नै छैन ।

संलग्न हुने सोच पनि छैन । हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै सक्दैनौँ । उनले थप प्रष्ट पार्दै भने एसपीपीमा नेपाल संलग्न हुँदैन, हुँदैन । यसमा थप आशंका पाल्न जरुरी छैन।’ मन्त्री खाणले कतिपय सांसदले एसपीपीलाई एमसीसीसँग पनि जोडेर ब्याख्या गरिरहेको भन्दै यो नितान्त भिन्न कुरा भएको बताए ।

‘एमसीसी आर्थिक परियोजना हो । त्यसमा ब्यापक छलफल गरि व्याख्यात्मक घोषणाका साथ संसदबाट पारित गरेका छौँ, यो नेपालको गरिबी निवारण र विकासका लागि महत्वपूर्ण हुनेछ’ उनले भने तर एसपीपीमा हामी सहभागि हुँदै हुँदैनौँ भनेपछि यसबारे थप आशंका गरिरहनै परेन ।’

संसद्मा यसअघि विभिन्न सांसदले एसपीपीका बारेमा उठाएका प्रश्नमाथि प्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका शेरबहादुर देउवाको तर्फबाट मन्त्री खाणले जवाफ दिएका थिए ।

त्यसपछि पनि सांसदहरु भीम रावल, गिरिराजमणी पोखरेल, देव गुरुङ, प्रेम सुवाल, दुर्गा पौडेल, अञ्जना विसंखे, रेणुका गुरुङलगायतले सरकारको जवाफ आएपनि अमेरिकी दुतावासले एसपीपीबारे नेपाल सरकारले नै अनुरोध गरेको, साझेदारी भइरहेको जस्ता विवादास्पद र अन्योलमा पुर्याउने खालका वक्तव्य र जानकारी सम्प्रेषण भइरहेको भन्दै सरकारको थप जवाफ मागेका थिए ।