नेकपा (एमाले)का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार नगर्ने बताउनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको तर्फबाट जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताउनु भएको हो ।
अर्थमन्त्री शर्माले विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेको उहाँले बताउनुभयो । एमालेले अर्थमन्त्रीको राजीनामा मागि रहँदा पनि कार्यसूचीमा अर्थमन्त्रीलाई हालेकोप्रति एमालेको असहमती र बिरोध रहेको उहाँले बताउनुभयो ।
सांसद ढकालले अर्थमन्त्रीलाई जिम्मेवारीबाट नहटाएकाले विचौलियाहरुको सञ्जाल अर्थमन्त्री भन्दा पनि माथि छ कि भन्ने आशंका उब्जाएको बताउनुभयो ।
उहाँले जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर दोषीलाई कानूनको कठघरमा ल्याउनुपर्ने र त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताउनुभयो ।
सोही क्रममा सांसद हृदयेश त्रिपाठीले पनि अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्नुभयो ।
सांसद त्रिपाठीले अर्थमन्त्रीले विचौलियको प्रयोग गरेको हो भने त्यो अपराध गरेको ठहरिने बताउनुभयो ।