Sat Jun 25 2022
मुख्य खबर

काठमाडौंमा छाडा कुकुरको आतंक 

अविशेक सुनार-  काठमाडौ महानगरका अनुसार हाल महानगरभित्र २१ हजार ८ सय २६ छाडा कुकुरहरु रहेको तथ्याङक छ । सडक छेउछाउमा देखिने छाडा कुकुरहरुबाट आम मानिसहरुलाई सास्ती हुने गरेको छ ।

सडक छेउछाउबाट हिड्दा कुकुरले लखेट्ने टोक्ने गरेका कारण सर्वसाधारणहरुलाई हिडडुलमा समस्या हुने गरेको छ । सडकमा वेवारिसे छाडिएका कुकुरको टोकाइमा परेका सर्वसाधारणहरुले महानगरको कुकुर व्यवस्थापन पक्ष कमजोर भएको बताएका छन् ।

सडकमा मोटरसाईकलमा हिड्दा झम्टिन आउँने, रातको समयमा हिड्दा समस्या हुने भएकाले समस्या समाधान गर्नु पहल गर्नुपर्ने उनिहरुको भनाइ छ ।

अहिले कुकुरको टोकाइका कारण उपचारमा आउने विरामीको संख्या बढेको चिकित्सकहरुको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक ३ सयजना जति विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको तथ्याङक अनुसार आईतवार र बुधवार ६ देखी ७ सय र अन्य समयमा करिब ३०० सम्म कुकुरले टोकेका विरामीहरु उपचारका लागि आउने गरेका छन् ।

काठमाडौ महानगरपालिकामा सन् २०१६ को तुलनामा वेवारिसे कुकुरहरुको उल्लेख्य मात्रामा व्यवस्थापन गरिएको बताएको छ । महानगरपालिकाको कुकुरहरु सङख्यात्मक रुपमा घटाएको भएपनि छिमेकी महानगरबाट कुकुर आउँदा सङख्या बढेको महानगरले बताएको छ ।

भालेपोथी कुकुरको बन्ध्याकरण, नगरका सबै कुकुराई रेबिज खोप, र रेबिज लागेका कुकुरलाई उपचार गरी छाडा कुकुरको व्यवस्थापन गरेको महानगरले जनाएको छ ।

काठमाडौ महानगरपालिकामा भएका करिब २२ हजार कुकुर मध्य करिब २५ प्रतिशत कुकुरको बन्ध्याकरण गरिएको छ भने ५ दशमलब ८ प्रतिशत कुकुरहरु विभिन्न रोगले ग्रसित छन् ।