Sun Jun 26 2022
मुख्य खबर

यथाशिघ्र विमानस्थल निर्माण गर्न माग गर्दै निजगढबासीले गरेको सडक आन्दोलन स्थगित

जीतलाल श्रेष्ठ, बारा- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण यथासिघ्र गर्न माग गर्दै निजगढबासीले गरेको सडक आन्दोलन विहिबारबाट स्थगित भएको छ ।

२० दिनदेखि निरन्तर रुपमा गरेको सडक आन्दोलन स्थगित भएपनि रिले अनशन भने जारी रहने स्थानीयले बताएका छन ।

यसैबीच विहिबार निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिकोसंयुक्त आयोजनामा गरिएको मुख्यमन्त्रीसँग निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे साक्षात्कार कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतले निजगढ विमानस्थल निर्माणको अरु विकल्प नभएको भन्दै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताए ।

निजगढ विमानस्थल निर्माण राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना भएकाले चाँडै निर्माण गर्न कुनै पनि बहानामा आलटाल गर्न नहुने र स्थान परिवर्तन गर्न पनि नहुने मुख्यमन्त्री राउतले बताए ।

मधेश प्रदेशको विकास, आर्थिक समृद्धि, रोजगारीका लागि मात्रै नभई समग्र मुलुकको विकास भएकाले निर्माणमा ढिलाई गर्न नहुने उनले बताए । विमानस्थल निर्माणका लागि यसअघि नैं प्रदेश सरकारले स्वीकृती दिई सकेको पनि मुख्यमन्त्री राउतले बताए ।

यसैगरी गत जेठ १२ गते सर्वोच्च अदालतबाट भएको निर्णयले विकास, आर्थिक समृद्धि र रोजगारीमा बाधा सिर्जना भएको बाराकी प्रदेश सांसद त्रिलोकी चौधरीले बताइन । उनले अदालतको पूर्ण पाठ सच्चिएर नआए आफ्नो नेतत्ृवमा संघर्ष शुरु गर्ने चेतावनी दिइन ।

निजगढ विमानस्थल निर्माणका लागि कुल ११ हजार ८ सय ७५ विघा क्षेत्रफलमध्ये पहिलो चरणमा १ हजार ९ सय हेक्टर अर्थात २ हजार ८५० विघा वन क्षेत्रफल आवश्यक पर्ने जनाइएको छ । त्यसमध्ये ७ सय ३१ विघा १४ कठ्ठा क्षेत्रफल वनको जमीनमा टागियाबस्ती रहेको छ ।