मेनुका लम्साल- दक्ष जनशक्तिको अभावमा लामो समय थन्किएको ब्रुमर अहिले सञ्चालनमा आएको छ ।
काठमाडौं उपत्यकालाई धुलोरहित सडक बनाउन सरकारले चार वर्षअघि करिब १४ करोडको लागतमा ईटालीबाट बू्रमर खरिद गरि ल्याइएको थियो । तर ब्रुमर सञ्चालनमा नआउदा सडक सरसफाईमा समस्या भएको थियो भने आवतजावत गर्न पैदलयात्रीलाई समेत यात्रा गर्न असहज हुने गरेको थियो ।
ब्रुमरसँगै करारमा आएका चालकको करार सम्झौता सकिएपछि जनशक्तिको अभाव भएको भन्दै ब्रुमर सञ्चालनमा आउन सकेको थिएन । तर यतिबेला सोही ब्रुमर पुनः सञ्चालनमा ल्याइए पनि दिर्घकालिन रुपमा सञ्चालन हुनेमा सर्वसाधरणले आशंका गरेका छन ।
काठमाडौं महानगरपालिकासँग सात वटा बाहेक तिब्बत सरकारले दिएको दुई वटा र २०७१ सालको सार्क सम्मेलनमा खरिद गरिएको सानो आकारको एउटा गरी १० वटा बु्रमर रहेको छ ।
करोडौ रकम खर्चेर तामझामका साथ भित्राइएको ब्रुमर केही समय काम गरेपछि थन्किएको हो । तर अहिले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहको पहलमा बुधबारबाट सञ्चालनमा आएका ब्रुमर निरन्तर रुपमा सञ्चालन हुने महानगरले जनाएको छ ।
लामो समय सञ्चालनमा आउन नसकेको ब्रुमर यतिबेला सञ्चालनमा आए पनि दिर्घकालिन रुपमै सञ्चालन हुनेमा सर्वसाधारण नागरिक भने विश्वस्त देखिएका छैनन् । आयोजना सञ्चालनमा नागरिकलाई विश्वास्त गर्ने तर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।