Wed Jun 29 2022
मुख्य खबर

राष्ट्रियसभा बैठकको शुन्य समयमा कसले के भने ?

राष्ट्रिय सभाको विहीबार बसेको बैठकमा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौताका सम्बन्धमा नेपाली जनता भ्रमित भएकाले सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए ।

उनले न्यायका लागि आमरण अनसन बसेकी निहारिका राजपुतको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अनशनरत निहारिका राजपुतको न्यायका लागि समिति गठन गरेर छानबिन गर्न माग गरिन ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्षाका कारण जनताको धनजनमा क्षति हुन शुरु भइसकेकाले सरकारले धनजनको क्षति न्यूनिकरण र बाढी पहिरोको व्यवस्थापनका लागि समयमै ध्यान दिनुपर्ने बताइन ।

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा राज्य र कानूनको बर्खिलापमा काम भएको बताएकी छन । उनले नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले नयाँ कार्यसमिति बनाएर तदर्थ समितिलाई काम गर्न नदिएको बताइन ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँ जिल्लालाई चितुवाले आतंकित बनाएको र विगत केही वर्षमा चितुवाले १२ जना बालबालिकाको ज्यान लिइसकेको उल्लेख गर्दै चितुवा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन ।

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जग्गा धितो राखेर विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई समस्या आइपरेकाले मालपोतले जग्गा धितो राख्ने स्थिति बनाउन सरकार सँग माग गरे ।

सदस्य शर्माले मलको अभाव, पाठ्यपुस्तकको अभाव र औषधिको अभाव पनि भएको भन्दै यी सबै अभावहरुको सम्बोधन गर्न सरकारसँग माग गरे ।