Wed Jun 29 2022
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागि भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन् । तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन । तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन ।

सन्तोषजनक प्रदर्शन गर्न नसकेका नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले भने अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए ।

केही सिनियर खेलाडी विना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको भएपनि निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए ।

पुर्व कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडी विना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवी खेलाडीको अभाव महसुस भएको कप्तान श्रेष्ठले बताए ।

यस्तै नेपाली टोलीका सदस्य पुजन उपर्कोटीले युवा टोली सहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए । उता ४० वर्षपछि नेपालले कुवेत विरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलिविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको बताए ।

छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा एक गोल फर्काएको थियो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । फिफा वरियतामा नेपाल भन्दा धेरै माथि रहेको कुवेतविरुद्ध नेपालले चार गोल खाँदा इन्जुरी समयमा एक गोल फर्काएको थियो ।

उक्त गोल नेपालले कुवेतविरुद्ध करिब चार दशकपछि फर्काउन सफल भएको हो । एक मात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए ।

लगातार दुई खेलमा पराजय पश्चात एएफसी एसियन कपको सम्भावना टरेको नेपाली टोलीले अन्तिम खेलमा इन्डोनेसियासँग खेलेको थियो । उक्त खेलमा कप्तात नवयुग श्रेष्ठको स्थानमा पुजन उपकोटीले कप्तानको जिम्मेवारी लिएका थिए ।

सोही खेलमा पनि नेपालले लज्जास्पद हार व्यहारेको थियो । यससँगै ७–० को फराकिलो हारसँगै नेपालले एएफसी एसियन कप छनोटको भ्रमण सकाएको हो ।