Mon Jul 4 2022
मुख्य खबर

व्यापारिको प्रतिनिधि राखेर बजेट बनाइयोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यापारिको प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाए ।

बिहीवार काठमाडौंमा आयेजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको तथा व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गरे ।

उनले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनु पूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहे पनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताए ।

अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारिहरु बोलाएर बनाएकोप्रति आपत्ति जनाए ।

अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा र सुविधाहरु उपभोग गरी पार्टीको अपमान र बेइज्ज्त गरिरहेको बताए ।

केही समयअघि नेता भुसालले एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टीका नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागि परेको आरोप लगाए । यस्तै अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसावकिताव समय क्रममा हुने समेत चेतावनी दिए ।

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर वाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताए ।

उनले देशको हीतबिरुद्धमा कुनै पनि काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेलाई हराउन अन्य कुनै पनि पार्टीले नसक्ने दाबी गर्दै आफ्नै पार्टीबाट चुनावमा हराउन सकुनी, मिर जाफर र मिर काशिमहरु निस्किएको टिप्पणी गरे ।

उनले जनताले स्थानीय तहमा पार्टीले गरेका कामहरुलाई हेरेर मतदान गर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन निर्देशन दिए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा एमाले आफ्नै कमजोरीका कारण हारेको स्वीकारे ।

उनले कमजोरी सच्याएर अघि बढेको भए पार्टीले थप ८८ सिट जित्ने उल्लेख गर्दै एमाले नै पहिलो पार्टी बन्नेमा द्विमत नरहेको जिकिर गरे । अध्यक्ष ओलीले जनमतका हिसावमा अझै पनि एमाले पहिलो पार्टी भएको दाबी गर्दै बुथ कब्जा, उम्मेदवारहरु गिरफ्तार, राज्य शक्तिको दुरुपयोग र पैसाको चलखेल नभएको भए एमाले नै पहिलो पार्टी बन्ने बताए ।