Sun Jun 26 2022
मुख्य खबर

दार्चुलाका किसानलाई ओखरका विरुवा वितरण

रमेश खत्री, दार्चुला-  दार्चुलालाई कृषिमा आत्मनिभर बनाउने भन्दै जिल्लामा विभिन्न किसिमका आयोजना सञ्चालन गरिएको छ । जिल्लाको माथिल्लो क्षेत्रलाई ओखर जोन बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरका विरुवा वितरण गरिएको जनाएको छ ।

शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईको अनुगमन कार्यक्रममा सहभागि स्थानीय किसानहरुले स्याउ खेतीलाई समेत प्रवर्दन गर्न आवश्यक रहेको बताएका छन ।

जिल्लाको शैल्य शिखर नगरपालिका सहित मालिकार्जुन र लेकम गाँउपालिकामा ओखर खेतीको अधिक सम्भावना रहेकाले ओखर खेतीमा सबै किसानहरु व्यवसायिक बन्नु आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन ।

त्यसका लागि जिल्लामा टर्किको स्याउ र ईटालियन, कश्मिरे जातका करिब ६ हजार ओखरका विरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलाका प्रमुख विष्णु ओझाले बताए ।

जिल्लामा ओखरको बजारीकरण भन्दा पनि विभिन्न प्रकारका रोगहरु लाग्ने चुनौति रहेकाले त्यसको समाधान गर्न विज्ञहरुसँग छलफल गरिरहेको कार्यालयले जनाएको छ ।

दार्चुलामा किसानहरुले एक सिजनमा मात्रै स्याउ तथा ओखर खेतीबाट करिव ६० हजारदेखि १ लाखसम्म आम्दानी गर्ने गरेकाले असिना र रोगकिराबाट बचाउने तरिका सिक्न पाए अझै आम्दानीमा बृद्धि गर्न सकिने स्थानीयले बताएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दार्चुलाले जिल्लाका ९ वटै स्थानीय तहको भुगोल अनुसार स्याउ तथा ओखर खेतीलाई पहिलो प्राथमिक्तामा राखेको छ । स्थानीय किसानको माग र भौगोलिक बनावट हेरेर जिल्लामा परियोजनाले काम गरिहेको समेत परियोजना कार्यान्वयन एकाई दार्चुलाले बताएको छ ।