दिनेश बिष्ट, कैलाली- प्रधानमन्त्री शेर बहादूर देउवाले शनिबार धनगढी उप महानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गेटा मेडिकल कलेज प्रतिष्ठान बनाउने प्रतिबद्धता समेत गरेका छन् ।
गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्ने देउवाको प्रतिबद्धता छ । डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भन्दा पहिला गेटामा सञ्चालन हुनुपर्छ भन्ने यहाँका जनताले माग उठाएकोमा खुशी लागेको देउवाको भनाई थियो ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे । देउवाले बिगतमा धनगढीबाट भारत हुँदै रेल चढेर काठमाडौँ पुगेको कुरा अवगत गराउँदै अहिले बिकासले निकै कोल्टे फेरेको बताए ।
धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनु पर्नेमा प्रधानमन्त्री देउवाले समेत जोड दिएका थिए । त्यसका लागि उनले मेयर गोपाल हमाललाई कडा रूपमा प्रस्तुत हुनु पर्ने बताए ।
प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको औँल्याए ।
देउवाले धनगढी संगै सुदूरपश्चिममा धेरै बिकासका काम अघि बढेको र आफ्नै पालामा अझ कार्यक्रम लागु हुने आश्वासन समेत दिएका छन् । तिनै तहका सरकारको सहकार्यमा बिकासका योजना लागु गरी जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए ।