Sun Jun 26 2022
देश

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

सर्लाही जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मीरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्किदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगत्तै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी​ कार्यलयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जनाकारी दिए ।