Mon Jul 4 2022
मुख्य खबर

प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोधिने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो ।

समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुु भएको थियो ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न किसिमका टिकाटिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री देउवा बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाएका थिए भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री देउवाको व्यस्थताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए ।

लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाएका छन ।