Mon Jul 4 2022
मुख्य खबर

कर्मचारीकै मिलेमतोमा मेची भन्सार कार्यालयमा राजस्व छली

पुजन घिमिरे, झापा-  मेची भन्सार कार्यालय झापाबाट सम्पुर्ण प्रक्रिया पुरा गरी छोडिएका ३ वटा मालबाहक भारतीय सबारीमा भन्सार गरिएको भन्दा फरक प्रकृति र परिमाणको सामान फेला परेको पाइएको छ । तर पनि भन्सार कार्यालयले भने नक्कली कागजात बनाएर चोरी तस्करीमा संलग्नलाई बचाउन प्रपन्च शुरु गरिएको पाइएको छ ।

मेची भन्सार कार्यालय परिसरमा पार्किङ गरी पार्किङ र भन्सार शुल्क समेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्कीएका प्रतिबन्धित रक्त चन्दनको बिरुवा र आलु बोकेका ३ वटा भारतीय मालबाहक ट्रकको सककली प्रज्ञापन पत्रलाई नक्कली साबित गर्ने प्रयास गरीएको हो ।

गत जेठ २२ गते राति १२ वजे मेची भन्सार भित्रैबाट भन्सारका कर्मचारीले सेटीङमा छोडेका ३ वटा मालबाहक भारतीय ट्रक शसस्त्र प्रहरीले जोरसिमलबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालले आलु र विरुवा बोकेको ३ वटा भारतीय ट्रकको प्रज्ञापन पत्र नक्कली भएको दाबी गरेका छन् । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् ।

ती तीन वटै ट्रक र सामान जफत गरिएको उनको भनाई छ । उनका अनुसार जफत गरिएको सवारीमा बिरुवा र आलु मात्र रहेका छन । यस्तै गाडीसहित जफत गएिको विरुवा नष्ट गरिएको पनि राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खनालले बताए । तर, नियन्त्रणमा लिइएका ट्रकमा प्रतिबन्धित रक्त चन्दनको बिरुवा समेत रहेको प्रहरी स्रोतले बताएको छ । प्रतिबन्धित सामग्री भन्सार भित्रैबाट तस्करी भएको पोल खुल्ने भएपछि बिरुवा गुपचुपमै नष्ट गरिएको आशंका गरिएको छ ।

मालबाहक सवारीमा लोड गरिएका सामग्रीको प्रकृति र परिमाण प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा फरक रहेको र त्यसले कर्मचारी संलग्नता पुष्टि गर्ने भएका कारण मिलेमतोमा सबै कागजात नक्कली साबित गराएर घटना गुपचुप बनाउन खोजिएको भन्सार स्रोतले जनाएको छ । गैरकानुनी धन्दामा सबैको संलग्नता पुष्टि हुने भएपछि भन्सार प्रमुख केशवराज ओली र कर्मचारी अर्जुन सिटौला भन्सारको सिस्टमबाटै ति सवारीको डाटा गायव गरिएको भन्सार स्रोतको भनाइ छ ।

यस्तै भन्सारको सम्पुर्ण काम लालिगुँरास टेड एण्ड सप्लायर्सले गरेको भए पनि त्यसका संचालकलाई हालसम्म पक्राउ गरिएको छैन । अवैध सामाग्री तस्करीमा संलग्नलाई पक्रनुको सट्टा भन्सार प्रमुखकै निर्देशनमा भगाईएको र सबै कागजात नक्कली पुष्टि गराएर वातावरण सहज भएपछि मात्रै बोलाइने भन्सार स्रोतले जनाएको छ । तर यस प्रक्ररणमा भन्सारको संलग्नताबारे प्रमुख ओलीसँग जानकारी लिन खोज्दा उनी कार्यालयमा भेटिएनन् भने फोन समेत रिसिभ गरेका छैनन् ।

यस्तै भन्सारका कर्मचारीको संलग्नता बिना यति ठुलो धन्दा एजेन्टले मात्रै चलाउन नसक्ने भन्सार एजेन्टहरुको दाबी छ । मेची भन्सार कार्यालयका प्रमुख ओलीसहित अन्य कर्मचारीको मिलेमतोमा पटक–पटक तरकारी र फलफुल बोकेका सवारीमार्फत करोडौ रुपैयाँ बरावरको भन्सार छली हँदै आएको छ । यस्ता घटना नदोहोरिन तथा चोरी तस्करी नियन्त्रण गर्न भन्दै भन्सार कार्यालयका अधिकारी, स्थानीय नेता तथा एजेन्टहरुले सामुहिक प्रयास गरे पनि त्यसले कुनै निकास दिन नसकेको बुझिएको छ ।