नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्रकुमार कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताउनु भएको छ ।
आज प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताउनु भएको हो ।
उहाँले बलियो गोरुसँग बहर बाच्छालाई हल बाँधिदिँदा बहर बाच्छा पेलनमा परे झैँ नेपालको पनि ठूला राष्ट्रहरुसँग समान हुन खोज्दा सोही हालत हुने टिप्पणी गर्नुभयो ।
उहाँले भारत, चीन र अमेरिकासँग गर्ने सम्बन्धमा असमान प्रावधान हुनु पर्ने उल्लेख गर्नुभयो । सांसद कार्कीले नेपालले एसपीपीमा सामेल हुन नसक्ने कुरा अमेरिकालाई पत्राचार गरेर जानकारी दिनुपर्ने पनि बताउनुभयो ।
सांसद कार्कीले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरिनु पर्ने बताउनुभयो । उहाँले नेपालमा आगामी दिनमा पनि एमसीसी, एसपीपी जस्ता विभिन्न शिर्षकमा यस्तै प्रकारका दबाबहरु आइरहने भन्दै शान्ति क्षेत्र बनाएमा त्यस्तो नहुने बताउनुभयो ।
उहाँले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई छिमेकी मुलुकहरु चीन र भारतले पनि समर्थन गर्ने अन्तर्राष्ट्रिय परिस्थिति बनेको बताउनुभयो ।
सांसद कार्कीले शक्ति राष्ट्रहरुको शित युद्धलाई भौतिक रुपमा देखिनु अघि नै नेपालले सो प्रस्तावलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।