Sun Jun 26 2022
मुख्य खबर

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान गर्नुभएको होइन : पुष्पा भुसाल

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान नगरेको बताउनुभएको छ ।

सांसद भुसालले प्रधानमन्त्री देउवाको समितिलाई अपमान र अवहेलना गर्ने मनशाय नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री देउवा एसपीपीको सम्बन्धमा उठेका विषयवस्तुहरुप्रति संवेदनशील रहेको बताउनु भयो ।

सांसद भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको औपचारिक कार्यक्रम आइसकेपछि उहाँले संसद र समितिमा जानकारी गराउने पनि बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले अमेरिकासँग एसपीपी सम्झौता गरिए नेपाल अमेरिकाको अखडा बन्ने भएकाले त्यसो गर्न नहुने बताउनु भयो ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले नेपाली सेनाले एसपीपी सम्झौता नगर्ने भनिसकेकाले यस विषयमा थप विवाद गर्नुनहुने बताउनु भयो । नेपालले एसपीपी सम्झौताका लागि गरेको प्रश्ताव पत्र बदर गर्न परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार गर्नुपर्ने बताउनु भयो ।

सांसद गुरुङले कुनैपनि देशसँग सन्धि, सम्झौता र समझदारीको पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्ने एकद्वार प्रणालीको नीति लागू हुनुपर्ने बताउनु भयो ।