नरेन्द्र महतारा- हरेक राजनीतिक दलहरुको विधि, विधानमा भिन्नता भए पनि एउटा कुरामा भने समानता देखिन्छ । त्यो हो, विभिन्न हतकण्डा अपनाएर कसरी सत्ताको कुर्सीमा पुग्ने ।
यो नेपालका राजनीतिक दलहरुको विगतदेखिको नै कार्यशैली हो । उनीहरु सत्ताका लागि जस्तोसुकै मुल्य चुकाउन पनि तयार हुन्छन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने तर सत्तामा पुगेपछि कार्य सम्पादन गर्न नसक्ने नेतृत्वका कारण देशले दुर्नियति भोगिरहेको जानकारहरुको भनाइ छ ।
दलहरुको यो प्रवृत्तिले राजनीतिक वृत्तमा मात्र होइन, अन्य क्षेत्रमा समेत प्रभाव पार्दै आएको छ । जनताका आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्ने नारासहित सत्तामा पुगे पनि सोही अनुसार जनताले परिणाम पाउन सकेका छैनन् ।
सत्ताको कुर्सीमा पुगेपनि ती नेतृृत्वहरुले जनताको कुरा मात्र विर्सिदैनन्, आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हँुदा अनेकौ झमेलामा अल्झीरहन्छन ।
त्यसको एउटा उदाहरणका रुपमा यतिबेला नेपाल सरकार र राजनीतिक दलहरुको बीचमा एसपीपी सम्झौतालाई लिएर बहस र छलफल हुन थालेका छन् । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको सन्दर्भमा अहिले राजनीतिक दलहरु आरोप प्रत्यारोपमा रुमलिएको छ ।तर एसपीपी सम्झौताका सन्दर्भमा पनि सबै राजनीतिक दलभित्र समान मत भने देखिएको छैन ।
एसपीपी सम्झौताकै विषयमा सत्तारुढ दल तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुको मत विभाजित अवस्थामा रहेको पाइएको छ् । सत्तामा हुँदा सन्तुलित अवस्थामा बस्ने तर प्रतिपक्षमा पुगेपछि विभिन्न हतकण्डा सिर्जना गरेर चर्को प्रतिवाद गर्ने प्रवृत्तिले जनतामा वितृष्णा पैदा भएको देखिन्छ ।
दलहरुका यस्ता व्यवहारबाट आजित भएका जनता स्वतन्त्र उम्मेदवारहरुलाई रुचाउन थालेको दोस्रो स्थानीय तह निर्वाचनको मत परिणामले देखाएको छ ।
सत्ताको कुर्सीमा पुगेका राजनीतिक दलहरु जब प्रतिपक्षमा पुग्छन् तब उनीहरु जनताका मुद्दाहरु प्रमुख रुपमा उठाउने प्रयत्न गर्छन । त्यति मात्र होइन सत्तामा रहेको फरक दललाई कसरी कमजोर बनाउन सकिन्छ भनेर उनीहरु कसरत गरिरहेका हुन्छन् । तर पदका लागि मरि मेट्ने राजनीतिक दलहरुले आगामी दिनका लागि केही गर्न बाँकी नराखेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
सरकार जनताको अभिभावक भएपनि अभिभावकलाई कसरी र कस्तो बाटोमा हिँडाउने भन्ने प्रतिपक्षीले प्रमुख भूमिका खेल्नु पर्दछ । प्रतिपक्षीको सकरात्मक भूमिकाकै आधारमा सरकार गतिशील बन्ने जानकारहरुको भनाइ छ ।