Sat Jun 25 2022
मुख्य खबर

काठमाडौं महानगरले घरमै फोहोर छुट्याउने महानगरवासीलाई सहुलियत दिने

काठमाडौं महानगरपालिकाले कुहिँने फोहोरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

आज काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो ।

मेयर बालेन्द्र साहले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै बर्गिकरण गर्ने व्यवस्था मिलाइने समेत बताउनुभयो ।

प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहोर मैलाको दिगो व्यवस्थापन गरिने बताउनुभयो ।

त्यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेष्ट कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा बताइएको छ ।

मेयर साहले फोहोर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट उर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेष्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताउनुभयो ।

महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिने उल्लेख गर्दै उहाँले ती ठाउँहरुमा पार्क निर्माण गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आईतबार ‘जनतासँग मेयर कार्यक्रम’ संचालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।