Mon Jun 27 2022
देश

बलात्कारपछि नगद र गहना लुटेर फरार भएका युवक पक्राउ

बिहेको प्रलोभनमा देखाएर बलात्कारपछि लुटपाटमा संलग्न एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ। काभ्रे तिमाल गाउँपालिका–९ स्थायी बसोबास भई हाल बनेपा बस्दै आएका २९ वर्षीय भोटे भनिने विश्व तामाङलाई गएराति प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

तामाङ जेठ २९ गते राति २४ वर्षिय युवतीलाई बिहेकाे​ प्रलोभन देखाएर भोटेबहालको एक रेष्टुरेन्टमा करणीपछि नगद र गहना लुटेर फरार भएका थिए।

उनले पीडित युवतीकाे साथमा रहेकाे एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी बृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरीकाे टोलीले नियन्त्रणमा लिएको हो।

विवाहको प्रलोभनमा पारेर पीडितलाई काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेर पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले बताएको छ।

यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो। जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो।

तामाङमाथि जबरजस्ती करणी र चोरीको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।