Tue Jun 28 2022
Breaking News

रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । लामिछानेले मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।

लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने ।

योबीचमा आफूले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको उनले बताए ।

उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गरे । उनले क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए ।

क्षमता नभई नभई पार्टीमा र्‍याल चुहाएर आफू नबस्ने बताए । देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकोले पार्टी दर्ता गराएको उनले बताए ।

लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’