Sat Jun 25 2022
मुख्य खबर

जलवायु परिवर्तनको असर मानव विकासमा परिरहेको छ : प्रदेश सांसद

नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएकाले यसप्रति सचेत हुन प्रदेश सांसदहरुले आग्रह गरेका छन । त्यसैगरी जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिलालाई पर्ने गरेको विज्ञहरुले बताएका छन ।

जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ । जसका कारण घरको काम गर्ने महिलाहरुमा झनै बढी कामको चाप थपिएको छ ।

यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलाहरुमा परेको छ । कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले जलवायु परिवर्तनको असर मानवविकासमा समेत परिरहेको बताइन ।

उनले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरु पनि पर्याप्त नभएको गुनासो गरिन ।

ओलीले कर्णालीमा अझै महिलालाई नेतृत्वदायी भुमिकामा विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै महिलाले पाए सबै काम गर्दछन् भन्ने मासिकता परिवर्तन गर्न गाह्रो रहेको बताइन ।

त्यस्तै वागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रुपमै नेतृत्व वर्गमा महिलाका बारेमा सोचाई फरक रहेको बताइन ।

उनले महिलालाई कुनैपनि जिम्मेवारी दिँदा पूरा गर्नसक्ने आधार तयार भइसके पनि नेतृत्व तहमा अझै महिलालाई नेतृत्व प्रदान गर्ने बुझाइमा विकास हुन नसकेको बताइन ।

सभापति आलेमगरले निडरताका साथ राम्रो काम गर्दा व्यावधान आएपनि समाधान गरेर अघि बढेको आफ्नो कार्यको अनुभव रहेको बताइन । महिलाले नेतृत्व गरेको समितिमा बस्दा विषयवस्तुको तयारी गरेर मात्रै बस्न बाध्य बनाउने स्थितिसम्म पु¥याएको सभापति आलेमगरले बताइन ।

सभापति आलेमगरले प्रदेश सरकारले क्षणिक समाधान भन्दापनि जलवायु परिवर्तनबाट परेका असरहरु न्यूनिकरणका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताइन ।

उनले गत वर्ष जलवायु परिवर्तका कारण मेलम्चीमा गएको बाढीको उदाहरण दिँदै त्यस्ता विपद्लाई कम गर्न प्रदेश, स्थानीय र संघीय सरकारले विशेष पहल गर्न आवश्यक रहेको बताइन ।

उनले नारायणी नदीले काटेको तटबन्धनलाई संरक्षण गर्ने र अन्य ठाउँमा वर्षाका कारण भएका क्षतिलाई नियालेर दीर्घकालीनरुपमा समस्या निवारण गर्नुपर्नेमा प्रदेश सरकारले काम अघि बढाउन आवश्यक रहेको पनि बताइन ।

जलवायु परिवर्तनका कारण नेपालमा हिमताल फुट्ने, खानेपानीको शंकट, चरणक्षेत्रहरु लोप हुनु, हिमालमा हिउँ नपर्नु जस्ता समस्याहरु देखिएका छन् । जलवायु परिवर्तनको असर विशेष गरेर नेपालमा महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदायमा परेको छ ।

महिला तथा सीमान्तकृत समुदायहरुको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक श्रोतमा बढी निर्भर छ । यी श्रोत जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण श्रोतहरुको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर पर्दै आएको छ ।