Mon Jun 27 2022
मुख्य खबर

सरकार प्रतिपक्षसँग संवाद गर्न चाहँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार प्रतिपक्षसँग संवाद हिनताको अवस्थामा रहेको बताए ।

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवाद हिनताको अवस्थामा पु¥याएको दावी गरे ।

मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिला बारेको अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री देउवाले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने र सबै कुरा गोप्य राख्ने गरेको बताए ।

अध्यक्ष ओलीले प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा पनि सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राष्ट्र र राष्ट्रियता तथा लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरी एकलौटी रुपमा आफु चलेको उनले आरोप लगाए ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको बताए ।

उनले छिमेकी सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भईसक्ने दावी गरे ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दा मात्रै दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्च स्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तराष्ट्रिय मञ्चहरुमा जाँदा तथा अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यसो गर्न नचाहेको टिप्पणी गरे । तर सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो कुनै गुनासो भने नरहेको उनले बताए ।