Sun Jun 26 2022
देश

मूल्यवृद्धीबारे सरकारको जवाफ माग्दै एमालेद्वारा राष्ट्रियसभा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

मंगलबार बसेको बैठकमा एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

सांसदहरूको विरोधपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिए । अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरूको विरोध रहिरहने बताए । मूल्यवृद्धिबाट प्रभावित जनतलाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउनुपर्ने भट्टराईले माग गरे ।

एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले मंगलबार कार्यसूचीमा रहेको विनियोजन विधेयकका विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगित गरे । राष्ट्रियसभाको अर्को बैठक बुधबार १ बजेलाई बोलाइएको छ ।