Tue Jun 28 2022
मुख्य खबर

संखुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित

संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० घर परिवार विस्थापित भएका छन् ।

लगातारको वर्षासँगै चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन् । चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङनुर्व शेर्पाले बताउनुभयो ।

अध्यक्ष शेर्पाका अनसार पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् भने चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन् ।

यस्तै वडा नं. ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवार विस्थापित भएका छन ।

विस्थापित भएकालाई नजिकैको आफन्तको घर र सामुदायिक भवनमा राखिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । पहिरोका कारण चिचिला गाउँपालिका हुँदै मकालु र भोटखाला गाउँपालिका जाने उत्तर दक्षिण कोशी राजमार्ग समेत अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला गाउँपालिका जाने सवारी साधन खाँदबारी नगरपालिकाको छ्याङकुटी आसपास रोकिएका छन् ।