Tue Jun 28 2022
मुख्य खबर

कागज अभाव र स्थानीय चुनावले समयमा विद्यालयमा पुस्तक पठाउन सकेनौं : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउन नसकिएको बताएका छन ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउन नसकिएको बताएका हुन ।

उनले बजारमा करिव १५ दिन कागज अभाव भएको, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु परेको र त्यही समयमा स्थानीय निर्वाचनको मतपत्र छपाई गर्नु परेकाले पुस्तक छपाईमा ढिलाइ भएको जिकिर गरे ।

मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायीहरु र सरकारी डाटासमेत हेरेर पुस्तक वितरण गरिरहेको बताए । उनले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी गरेपनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताए ।

मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दी व्यवस्थापनको काम तीब्र रुपमा भइरहेको बताए ।

त्यस्तै शिक्षा सचिव यादवप्रसाद कोईरालाले पाठ्यपुस्तक छपाई प्रक्रियामै समस्या रहेको बताए । उनले पाठ्यपुस्तक छाप्नका लागि भदौ महिनामै ऋण लिनुपर्ने र छपाईको काम गर्दा ब्याज बढेर दोब्बर हुने भएकाले पुस्तक छपाईको काम ढिलो भइरहेको दाबी गरे ।

सचिव कोईरालाले पाठ्यपुस्तकको मूल्य स्थिर राख्नका लागि सरकारले निजी क्षेत्रलाई छाप्न नदिएको बताए । उनले सरकारले डेढ अर्ब रुपैयाँमा पाठ्यपुस्तक छपाई रहेको तर निजी क्षेत्रलाई दिँदा ७ अर्ब रुपैयाँमा पनि छपाउन नसक्ने बताए ।

पाठ्यपुस्तक छपाईमा सार्वजनिक खरिद ऐनका कारण पनि समस्या भएको सचिव कोइरालाले बताए । सार्वजनिक खरिद प्रक्रियाबाट पाठ्यपुस्तक खरिद र छपाई भएसम्म सधैँ समस्या रहिरहने उनले दाबी गरे ।

सचिव कोईरालाले सरकारले तत्काल पाठ्यपुस्तक खरिदमा सार्वजनिक खरिद प्रक्रिया छोटो बनाउनु पर्ने आवश्यकता रहेको बताए । उनले शिक्षा ऐन नआएका कारण अनुगमन लगायतका काम नभएको नभई १२ कक्षासम्म स्थानीय सरकारलाई जिम्मा दिँदा समस्या भएको बताए ।

सचिव यादवले पाँच कक्षासम्म स्थानीय सरकारलाई र पाँच भन्दा माथि केन्द्रलाई नै जिम्मा दिँदा शिक्षालाई गुणस्तर बनाउन सकिने बताए । स्थानीय तहलाई १२ कक्षासम्मको जिम्मा दिँदा शिक्षामा गुणस्तर कमजोर बन्दै गएको सचिव कोइरालाको भनाई छ ।