Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

११ महिनामा खानेतेलको वैदेशिक व्यापारमा नेपाललाई २० अर्ब ४३ करोड घाटा

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो ।

नेपाली उद्योगी/व्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आइरहेका छन् । नेपालमा भारतीय बजारलाई लक्षित गरेर २० वटाभन्दा धेरै खानेतेल प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगले इण्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र बोलिभिया तथा भेनेजुयला लगायतका मुलुकबाट कच्चा तेल आयात गर्ने गर्छन् । इण्डोनेशिया र मलेसियाबाट कच्चा पाम तेल आउँछ भने दक्षिण अमेरिकी मुलुकबाट कच्चा तोरी, भटमास र सूर्यमुखीको तेल आयात हुन्छ । जसलाई प्रशोधनपछि प्याकेजिङ गरेर भारततर्फको बजारमा निर्यात गर्ने गरिन्छ ।

यसअघि, युक्रेनबाट समेत नेपालमा तोरी, भटमास र सूर्यमुखीको कच्चा तेल आयात हुन्थ्यो । तर, छिमेकी मुलुक रुसले सैन्य हमला गरेपछि भने युक्रेनबाट नेपाल आउने तेलको परिमाण घटेको छ । यस्तै, छिमेकी मुलुकसँगको द्वन्द्वमा फसेपछि रुसबाट आउने कच्चा खानेतेलको परिमाण समेत घटेको विभागको तथ्यांकले देखाएको छ ।

तर, यसरी नेपालमा उत्पादन नै नहुने वस्तुको कच्चा पदार्थ ल्याएर बाहिरी मुलुकमा निर्यात गर्दा नेपालले उल्टो घाटा ब्यहोरिरहेका तथ्यांक विभागले सार्वजनिक गरेको छ । ११ महिनाको अवधिमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब १० अर्ब ५६ करोड रुपैयाँको कच्चा तेल आयात गरेको छ ।

जसमध्ये, ५३ अर्ब २५ करोड रुपैयाँको भटमास तेल, ३९ अर्ब ५९ करोड रुपैयाँको पाम तेल र १७ अर्ब ७२ करोडको सूर्यमुखी तेल आयात भएको छ । यी सबै तेलको कुल परिमाण जोड्दा १ खर्ब १० अर्बभन्दा धेरै हुन आउँछ । र, आयात भएको कुल वस्तुमध्ये ९० अर्ब १३ करोड रुपैयाँको मात्रै भारततर्फ निर्यात भएको छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालबाट सबैभन्दा धेरै भटमास तेल निर्यात भएको छ । नेपालबाट यस अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ भने ३९ अर्ब १० करोड रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै, यस अवधिमा जम्मा ४ अर्ब ४५ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ ।

यसरी, चालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिना (साउन–जेठ) सम्मको अवधिमा नेपालले खानेतेलको व्यापारमा २० अर्ब रुपैयाँभन्दा धेरैको घाटा ब्यहोरेको तथ्यांकले देखाएको छ ।