Sun Jun 26 2022
मुख्य खबर

निःशुल्क शौचालय सञ्चालन गर्न ३३ वटा संघसंस्थासँग सम्झौता, अब महानगरभित्र २५० शौचालय नि:शुल्क हुने

काठमाडौँ महानगरपालिकाभित्र २५० वटा शौचालय सञ्चालनमा आउने भएको छ । त्यसका लागि ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ। बैङ्क, रेस्टुरेन्ट, स्कूल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो ।

महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नुरनिधि न्यौपाने र ती संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।

सम्झौता आउँदो ५ वर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १र१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् । महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो ।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन नसकेको महानगरपालिकाले जनाएको छ ।