Wed Jun 29 2022
मुख्य खबर

रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक अलपत्र, ठेकेदार सम्पर्कविहीन

नवराज विक, रामेछाप-  रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माणको काम अलपत्र हुँदा सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ ।

निर्माण ब्यवसायीले निर्माणको काम बीचमै अलपत्र छाडेर हिडेपछि यातातयातका साधन नचल्दा सर्बसाधारणको दैनिकीमा समस्या भएको छ । कालपत्रे गर्नको लागि सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि यातायात सञ्चालनमा समेत समस्या भएको छ ।

वर्षा सुरु भएसँगै सडक ठाउँठाउँमा भासिने साथै खल्डो बनेपछि यातायात सञ्चालनमा कठिनाई भएको हो । सडककै कारण बस्ती समेत जोखिममा छन् ।

भारतीय एक्जिम बैंकको सहयोगमा करिब डेढ वर्षदेखि सडक कालोपत्रको लागि काम सुरु गरिएको थियो । तर बीचमै काम छाडेर निर्माण ब्यवसायि सम्पर्कबिहीन बन्दा पनि जिल्लाका जिम्मेवार निकाय भने मौन छन ।निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि मजदुहरुको समेत विचल्ली भएको छ ।

यातायात सञ्चालनमा अवरोध भएपछि सम्बन्धित ठाउँमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको स्थानीयको भनाइ छ । सडकको भित्ता काटेर अलपत्र अवस्थामा छाडिदिदा रामेछाप नगरपालिका वडा नं. २ को कालिकादेवि माध्यमकि विद्यालय समेत पहिरोको उच्च जोखिममा परेको छ ।

यो सडकमा यात्रुबाहक बस, ढुवानी तथा साना सवारी साधनहरु गरि दैनिक दुई दर्जनभन्दा बढी सवारी साधन चल्ने गर्छन । सडक निर्माण कार्यलाई निरन्तरता दिन, मजदुरहरुको ज्याल दिन, जेखिममा रहेको बस्ती तथा विद्यालयहरुको जिम्मेवार लिन भन्दै रामेछाप नगरपालिकाले निर्माण कम्पनी र सरोकारवाला निकायलाई पत्र काटेको छ ।

कुल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरि सडक विस्तारको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले पाएको थियो ।