Tue Jun 28 2022
मुख्य खबर

फोहोरमुक्त बन्दै सेती प्रादेशिक अस्पताल, फोहोरबाट मात्रै मासिक ३० हजार बढी आम्दानी गर्दै

 दिनेश बिष्ट, कैलाली-  कुनै समय जता–त्यतै फोहोर देखिने र त्यही फोहोर सडेपछि त्यसबाट निस्केको दुर्गन्धले आजित बनेका बिरामी र तिनका करुवा अहिले खुशी देखिएका छन ।

अस्पताल ब्यवस्थापनले फोहोरको उचित ब्यवस्थापन गरेपछि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा आउने बिरामी र तिनका कुरुवा खुशी भएका हुन् ।

अस्पतालबाट निस्केको फोहोरलाई, फोहोरको किसिम अनुसार छुट्याएर राख्ने गरिएपछि अहिले दुर्गन्ध र फोहोरबाट उत्पन्न समस्या कम भएको हो ।

प्रदेशमा सबैभन्दा बढी विरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा विगतका दिनहरुमा अन्य अस्पतालका तुलनामा यहाँ फोहोर बढी नै हुने गरेको थियो ।

त्यसपछि अस्पताल प्रशासनले गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरेको अटोक्लेभ हाउसमा अस्पतालबाट निस्केका सबै फोहोरलाई किटाणुरहित बनाउने मेसिन जडान गरेपछि अहिले फोहोरको समस्या हटेको छ ।

अस्पतालले सबै वार्डमा फोहोरको किसिम अनुसार अलग–अलग रुपमा छुट्याउने र कन्टेनरमा राख्ने गरेको छ भने अस्पतालबाट निस्कने फोहोरलाई त्यसको प्रकृति अनुसार अलग्याएर निर्मुलीकरण गर्ने, पुनःप्रयोग र पुनः उत्पादन गर्न मिल्ने बस्तुलाई बिक्री गर्ने तथा अन्य बस्तुलाई डम्पिङ गर्ने गरेको छ ।

अस्पतालले पछिल्लो समय किटाणुजन्य फोहोरलाई किटाणुरहित बनाएर मात्रै डम्पिङ गर्ने गरेको छ भने सिरिन्ज, बोतल, पोलिथिन जस्ता रिसाइकल गर्न मिल्ने बस्तुलाई बिक्रि गर्ने गरिएको बताएको छ ।

कुनै बेला फोहोर व्यवस्थापन गर्न निकै समस्या हुने गरेको बताउने अस्पताल प्रशासन अहिले फोहोरबाट मात्रै मासिक ३० हजार बढी आम्दानी गरिरहेको छ । अस्पताल प्रशासनले विरामीको चाप बढेसँगै फोहोर ब्यवस्थापनमा पनि त्यतिकै ध्यान दिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेशको एक मात्र रेफल अस्पतालमा फोहोर ब्यवस्थापनमा प्रशासन चलाखो बन्दा अहिले फोहोर व्यवस्थापनमा सुधार भएको छ । अस्पताल परिसरबाट फोहोरको डङ्गुर हटेसँगै त्यसबाट उत्पन्न दुर्गन्धबाट बिरामी र तिनका कुरुवा मुक्त भएका छन ।