Sat Jun 25 2022
मुख्य खबर

मतदाता परिचय पत्र सास्ती, घण्टौंसम्म लाइन बस्नुपर्ने

अविशेक सुनार-  आगामी प्रदेशसभा र संसदीय निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्न शुरु गरेको छ ।

यसअघि मतदाता नामावलीमा नाम लेखाउन छुटेका र नयाँ मतदाताको नामावली संकलन गर्न आयोगले गत असार १ गतेबाट मतदाता नामावली दर्ता गर्न शुरु गरेको हो ।

त्यसका लागि यतिबेला आयोगको विभिन्न कार्यालयहरुमा नयाँ मतदाता नामावली दर्ता गराउनेको भिड लागेको छ । त्यस्तै सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्रको व्यवस्था गरेपछि राष्ट्रिय परिचय पत्र लिनेको पनि उत्तिकै भिड लागेको पाइएको छ । तर अधिकांश सरकारी निकायमा हुने ढिला सुस्तीलाई हटाएर सरकारी सेवा सुविधालाई छिटो छरितो र व्यवस्थित बनाउने सरकार प्रतिबद्धता जनाए पनि अहिलेसम्म सरकारी कार्यालयको अवश्था उस्तै पाइएको छ ।

जसका कारण सरकारी सेवा लिन कार्यालय पुगेका सेवाग्राहीहरुलाई घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । लाईनमा बसेको ३ घण्टा पछि पनि आफुहरु कार्यालयको गेटमा पुग्ने कुनै टुंगो नभएको सर्वसाधारणको भनाई छ ।

सेवा प्रवाहमा सरकारी निकायले व्यवस्थित गर्न नसक्दा दिउँसो १२ बजेको टन्टलापुरे घाममा पनि लाईनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरुले गुनासो गरेका छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका सर्वसाधारण नागरिकहरु प्रदेशसभा र संसदीय निर्वाचनका लागि भने उत्साहित देखिएका छन् ।

निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेका नागरिकहरुका लागि देशभर मतदाता नामावली दर्ता गरिरहेको छ । तर उनीहरुले निर्वाचनमा भने १८ वर्ष उमेर पुगेपछि मात्रै सहभागी हुन पाउने छन ।

यस्तै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन यसपटक आयोगले आफू बसेको स्थानबाटै नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको छ । तर सेवाग्राहीहरुले भने सरकारी कार्यालयमा हुने काम छिटो छरितो र सहज रुपमा उपलब्ध नभएको गुनासो गरेका छन ।