नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनु भएको छ ।
आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले विश्वभर नै इन्धनको मूल्य बढी रहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेको बताउनुभयो ।
त्यसबाट बच्न सरकार तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रुपमा पनि ठूलो समस्यामा फस्ने उहाँले दाबी गर्नुभएको होे ।
कार्यकारी निर्देशक थानीले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नु परेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक थानीले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनुभयो । यस्तै कार्यकारी निर्देशक थानीले गत वर्षको चैत–वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएकोमा, यस वर्षको चैत्र–वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक थानीले एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकाले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको पनि बताउनुभयो । उहाँले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।