जोडिनुहोस
  • होमपेज
  • इलामको माङसेबुङमा बेसार प्रवर्द्धन सुरु

इलामको माङसेबुङमा बेसार प्रवर्द्धन सुरु

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु गरेको हो ।

‘कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ’, वडाध्यक्ष भूपाल योङहाङले भने, ‘तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।’

पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ । सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिए । उनका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।

उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ । सुरुमा २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताए ।

उत्पादन सुरु भएपछि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ । ‘उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ । साथै समग्र माङसेबुङ गाउँपालिका वा १ नं वडाको पहिचान÷अपनत्व झल्कने गरी ब्राण्डिङ गरिनेछ’, वडाध्यक्षले भने । बेसार गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

इलाममा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । यस वर्ष इलाममा एक हजार नौ सय सात मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । बेसार १० गुणा बढी फल्ने किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानको भनाइ छ ।

बेसार विभिन्न जाताका हुन्छन् । मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ । यसलाई औषधीय गुणका रूपमा लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकार बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’बाट पनि बचाउँछ ।

बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो । समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइसम्म बेसारखेती गर्न सकिन्छ । यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ ।

इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसारखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेसारखेती नगदे बाली भएकाले यसप्रति किसानको आकर्षण बढेको केन्द्रका निमित्त प्रमुख यादव बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका