Tue Jun 28 2022
देश

स्वतन्त्र पार्टीमा सभापतिसहित ११ पदाधिकारी रहने, २१ केन्द्रीय सदस्यको नाम गोप्य

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा ११ जना पदाधिकारीको टिम रहने भएको छ । लामिछानेले सभापति पदमा रहेर पार्टीलाई नेतृत्व गर्ने छन् ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको विवरणमा ११ पदाधिकारीको व्यवस्था गरिएको हो ।

अहिलेलाई भने एक प्रवक्ता मात्रै नियुक्त गरिएको छ । पार्टीले डा. मुकुल ढकाललाई प्रवक्ता नियुक्त गरेको हो । उनले रासकोट अस्पताल निर्माणमा रविलाई सघाएका थिए ।

नवनियुक्त प्रवक्ता ढकालले पार्टी पदाधिकारीहरूमा तत्काल मनोनयन नहुने बताए । ‘हाललाई सभापति र प्रवक्ता मात्रै रहेका छौँ, अरू पदको मनोनयन तत्काल हुँदैन,’ उनले भने ।

ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिपछि उपसभापति र महामन्त्रीहरू रहने छन् । पार्टीको प्रस्तावित विधानमा एक महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ । बाँकी पदाधिकारीहरूमा तीन उपसभापति, ३ सह महामन्त्री र एक सह प्रवक्ता रहनेछन् । सभापति र प्रवक्ताबाहेक पदाधिकारी चयन सम्भवतः महाधिवेशनपछि मात्रै हुनेछ ।

२१ केन्द्रीय सदस्य गोप्य

स्वतन्त्र पार्टीको घोषणा सभामा २१ जनाको तदर्थ समिति रहने जानकारी गराइएको थियो । तर, अहिलेसम्म यो समितिमा रहेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन ।

प्रवक्ता ढकालले प्रस्तावित केन्द्रीय समितिलाई निर्वाचन आयोगले प्रमाणीकरण गरेपश्चात् मात्रै नाम सार्वजनिक गर्ने नीति लिइएको बताए । ‘अहिले नाम सार्वजनिक गर्दैनौँ, आयोगले प्रमाणीकरण गरेपछि हामी उहाँहरूको विस्तृत परिचयसहित आफैँ जानकारी दिनेछौँ,’ उनले भने ।

स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको प्रोफाइल अहिले तयार गरिरहेको छ । साथै, पार्टीले एउटा सशक्त विज्ञ टिम पनि घोषणा गर्ने तयारी गरेको छ ।

आगामी १७ वा १८ गते केही चर्चित नामहरू पार्टीमा जोडिन सक्ने स्रोतले दाबी गर्‍यो ।