Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

१५ सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबल संघलाई फिफाको आदेश

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघलाई प्रतिबन्धबाट बच्नका लागि विधान सशोधन प्रक्रिया पूरा गरी १५ सेप्टेम्बरसम्म चुनाव गर्न आदेश दिएको अधिकारीले जनाएका छन् ।

रोयटर्सका अनुसार समयमै कार्यकारी समितिको चुनाव गराउन असफल भएको र राष्ट्रिय खेलकुद संहिताले तोकेका नियमअनुरूप विधान परिमार्जन गर्न असफल भएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) भंग गरेको थियो ।

अदालतले त्यसपछि संघ सञ्चालन गर्न, विधान संशोधन गर्न र १८ महिनादेखि हुन नसकेको चुनाव गराउनका लागि तीन सदस्यीय समिति गठन गरेको थियो । फिफाको विधानमा सदस्य संघहरू देशको राजनीतिक र कानुनी हस्तक्षेप मुक्त हुनुपर्ने प्रावधान छ । फिफाले यस्तै, विवादमा आफ्ना सदस्य राष्ट्रलाई निलम्बन गरेको उदाहरण छन् ।

एसियन फुटबल महासंघ (एएफसी) र फिफाले भारतीय खेलकुदमन्त्री अनुराग ठाकुरसहित अन्य सरोकारवालासँग छलफल गर्नका लागि एएफसीका महासचिव विन्डसर जोनको नेतृत्वको टिमलाई भारत पठाएको थियो । “सरोकारवालासँगको छलफलको निष्कर्षमा संघ सुशासनका लागि फिफा÷एएफसीका सिद्धान्तअनुरूप एआईएफएफ विधानहरूको अनुमोदन र अर्को नेतृत्व चयन गर्न चुनावी महाधिवेशनको आयोजना हुनुपर्ने रहेको छ,” एएफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चुनाव सरोकारवालाहरूसँग सहमति गरेको समयसीमा आधारित हुनेछ ।”

दिल्ली फुटबल संघ तथा फिफा रिजनल डेभलपमेन्ट अफिसर शाजी प्रभावकरणले ट्विटरमा विधान संशोधन र चुनावका लागि भारतीय फुटबल संघलाई जुलाई ३१ देखि १५ सेप्टेम्बरसम्मको समयसीमा तोकिएको बताएका छन् । उनले भनेका छन्, “फिफा र एएफसीले हामीलाई समयसीमा तोकेर कडा निर्देशन दिएको छ । त्यसलाई अस्वीकार गरेमा प्रतिबन्ध हुन सक्छ ।”

प्रतिबन्ध भएमा भारतले अक्टोबरमा गर्ने भनिएको यु–१७ महिला विश्वकप आयोजनाको अवसर पनि गुमाउनेछ ।