Sun Jun 26 2022
मुख्य खबर

बन्दुक नियन्त्रणसम्बन्धी द्विपक्षीय विधेयक अमेरिकी सिनेटबाट पारित

अमेरिकामा अन्ततः बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित भएको छ । अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटले उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो ।

पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।

अब उक्त विधेयक तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा प्रस्तुत हुनेछ । हाउस अफ रिप्रेजेन्टेटिभबाट अनुमोदन भएपछि राष्ट्रपतिले सदर गर्नुपर्ने प्रावधान रहेको छ ।

राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । राष्ट्रपतिले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताएका छन् ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुनेछ ।

मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, पत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ ।

उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेको तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको बताइन्छ । बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।