Mon Jul 4 2022
मुख्य खबर

स्थानीय निर्वाचनपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखियो : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको समेत जानकारी दिएका छन् ।

उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतीको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखेका थिए । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सही निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।