नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकमा विशेष समयमा सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको हो ।
उहाँले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिने गरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभयो ।
उहाँले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनु पर्नेमा जोड दिनुभयो । सांसद देवले नागरिकताको सवालमा असहमतीका विषयहरुलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने बताउनुभयो ।
सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरुलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।