Wed Jun 29 2022
मुख्य खबर

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट डिजिटल कारोबार भइरहेको समेत बताए । यस्तै मन्त्री शर्माले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि दावी गरे । उनले नेपालमा डिजिटल कारोबार अन्तरगत क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको समेत बताए ।

मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए । उनले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नु परेको बताए ।

त्यस्तै महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताए । उनले यस वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताए ।

महालेखा परीक्षक शर्माले अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने भएपनि कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताए ।

महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छाडेको बताए । उनले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरे पनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताए ।