Sat Jun 25 2022
Uncategorized

महाकवि देवकोटाको घर पुनर्निर्माण अन्तिम चरणमा

अविशेक सुनार- मुनामदन, सुलोचना, शकुन्तला जस्ता अमर कृतिका रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

करिब ८० वर्ष पुरानो देवकोटाको घरलाई सरकारले कविकुञ्जका रुपमा संग्रहालय बनाउन लागेको हो । त्यसका लागि सरकारले २ करोड ५० लाख रुपैयाँमा खरिद गरेर प्रज्ञा प्रतिष्ठानलाई संग्राहलय निर्माणका निम्ति जिम्मा लगाएको थियो ।

संग्रहालय बनाउँनकै लागि २ वर्ष अगाडी खरिद गरेको सो घर पुनःनिर्माणको काम आगामी साउनको दोस्रो साताभित्र सक्ने योजना छ ।

महाकवि देवकोटाको घर पुननिर्माणका लागि बिकेओआई एमके जोईन्ट भेन्चर कम्पनीले २०७८ साउन ४ गते करिब ७ करोड रुपैयाँमा पुननिर्माण गर्ने सम्झौता गरेको थियो ।

यसैबीच नेपाली साहित्यलाई समृद्ध बनाउन योगदान दिने महाकवि देवकोटाको घरलाई पुनःनिर्माण गर्न थालेपछि सर्वसाधारण नागरिक भने उत्साहि देखिएका छन् । महाकवि देवकोटाको पहिचानका ऐतिहासिक सामानहरुलाई समेत पहिलेकै झल्को दिने गरि राख्नुपर्ने उनीहरुले बताएका छन् ।

संग्राहलय बनाउनका निम्ति घर भत्क्याईए पनि महाकवि देवकोटाको ईतिहास भने मेटिदै गएको कतिपयको भनाइ छ । घर भकाएसँगै घरको ईतिहास मेटिएको र नयाँ पुस्ताले देवकोटाको घर देख्न नपाउने उनीहरुको भनाई छ ।

अब बन्ने संग्राहलयमा देवकोटाका पुस्तक र उनले प्रयोग गरेका वस्तुहरु मात्र राखिने हुँदा घर साँस्कृतिक रुपमा नरहने साहित्य क्षेत्रका जानकारहरुले बताएका छन् ।

सेक्सपियरको उदाहरण दिँदै घरलाई निर्माण नगरी यथावत नै राखिएको भए देवकोटाको ईतिहास नयाँ पुस्ताले देख्न पाउने सर्वसाधारणको भनाई छ । यद्यपी पुननिर्माण पछि बन्ने संग्रहालयप्रति पनि उनीहरु खुशी देखिएका छन ।