Fri Aug 19 2022
मुख्य खबर

वामदेव भन्छन् – ‘प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो’

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिवार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए ।

उनले एउटा अध्यक्षले प्रधानमन्त्रीको बिरुद्धमा अविश्वासको प्रस्ताव लैजाने र त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताए । कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको नेता गौतमले दाबी गरे ।

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे ।

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि दाहालले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको र अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको आरोप समेत लगाए ।

राष्ट्रिय सभा सदस्य गौतमले नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए । काँग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर काँग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसी जस्ता राष्ट्रघाती सम्झौता भित्रिने दावी गरे ।

राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली काँग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए ।

काँग्रेसलाई नेतृत्व सुम्पिँदा राष्ट्रघातको सम्भावना बढी हुने भएकाले कम्युनिष्टहरु मिलेर काँग्रेसलाई सँगै लैजानुपर्ने सुझाव दिंदै काँग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने तर्क दोहो-याए । काँग्रेसको नेतृत्वमा देशको विकास हुनै नसक्ने नेता गौतमले दाबी गरे ।