Fri Aug 19 2022
आर्थिक

साताको शेयर : परिसुचक तल्लो बिन्दुमा झरेपनि कारोबार रकममा भने केही सुधार

यो साता सेयर बजार परिसुचक नेप्से निकै नै तल्लो बिन्दुमा झरेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ ।

नियमित कारोबारका लागि सातामा छ कार्य दिननै नेप्से खुल्ला रहेको थियो । सो मध्ये तेस्रो र छैठौँ कार्य दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो ।

जसअनुसार यो साता नेप्से १९ सय अंकबाट पनि तल झरेको छ भने कारोबार रकम गत साताको तुलनामा बढेको छ । सातामा नेप्से १८ सय ६२ दशमलव छ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ९० अंकमा कायम रहन पुगेको छ ।

दुुई सय ३७ वटा कम्पनीहरुको एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा यो साता दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता शेयर किनबेच भएका छन् ।

सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौं रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

यो साता पहिलो दिन ३७ दशमलव २७ अंकले घटेर एक हजार नौँ सय ३४ दशमलव ११ झरेको नेप्से दोस्रो दिन पनि ४९ दशमलव ३१ अंकले घटेर १८ सय ८४ दशमलव ८१ झरेको थियो ।

तेस्रो दिन भने ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ दशमलव ३० अंकमा चढेको नेप्से चौंथो दिन पुन ३१ दशमलव २१ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ अंकमा झरेको थियो ।

पाँचौं दिन ४५ दशमलव २५ अंकले घटेर एक हजार आठ सय ४८ दशमलव २८ अंकमा झरेको नेप्से छैठौँ दिन भने १३ दशमलव ७८ अंकले बढेर एक हजार आठ सय ६२ दशमलव छ अंकमा पुगेको थियो ।