Fri Aug 19 2022
मुख्य खबर

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता पक्षकै सांसदहरुको असन्तुष्टि

दिनेश बिष्ट, कैलाली-  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि गत असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । ३६ करोड बढी बजेट पेस गरेको प्रदेश सरकारले सांसदहरुका योजना काटेपछि सत्ता पक्षकै सांसदहरु रुस्ट बनेका छन् ।

सत्ता पक्षबाटै प्रदेश सभामा बिरोध शुरु भएपछि बजेट माथिको छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएपछि छलफलका लागि असार ८ गते बोलाइएको बैठक समेत सुचना टाँस गरी स्थगित गरिएको छ ।

बिगतको तुलनामा सुधारेर बजेट ल्याउनु पर्नेमा प्रदेश सभा सदस्यहरुको गरिमा नरहने गरी झ्यालबाट योजना आएको प्रदेश सभा सदस्यहरुले बताएका छन ।

प्रदेश सरकारले ल्याएको रातो पुस्तिकामा थुप्रै त्रुटिका साथै आर्थिक सुशासन विपरितका गतिविधि देखिएको भन्दै सत्ता पक्षका प्रदेश सभा सदस्यले असन्तुष्टी जनाएका हुन् ।

प्रक्रिया विपरित आएका योजना सच्याउनु पर्ने भन्दै उनीहरुले बजेटप्रति असन्तुष्टि जनाएको प्रदेश सभा सदस्यहरुको भनाइ छ । कतिपय योजना बजेटको सिद्धान्त विपरित रहेको र प्रक्रिया विपरित आएका योजनाहरु सच्याउन उनीहरुले माग गरेका छन ।

यस्तै बजेट उपयुक्त नभएको भन्दै सत्ता पक्ष र विपक्षका सांसदहरूले संसदमा छलफल नै गर्न नदिने बताइरहेका बेला प्रदेश सरकारले भने बजेट संशोधन हुन नसक्ने जनाएको छ । यो १० दिनको तयारीमा बजेट नआएको दावी गर्दै सरकारले महिनौँदेखिको तयारीले आवश्यक्ता कै आधारमा बजेट आएको प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका केही योजना समेत भेटिएका छन् । हचुवा र बिचौलियाको माध्यमबाट बजेट ल्याइएको भन्दै अहिलेको बजेटले प्रदेशका जनतामाथि खेलवाड गरेको एमालेको आरोप छ ।